चार महिनापछि सुकेटार विमानस्थलमा पुनः उडान सुरु



ताप्लेजुङ, असोज १२। ताप्लेजुङको सुकेटार विमानस्थलमा झण्डै चार महिनापछि पुनः नियमित उडान सुरु भएको छ। मौसममा सुधार आएसँगै नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले सोमबार १३ जना यात्रु लिएर सुकेटार विमानस्थलमा अवतरण गरेपछि उडान पुनः सुरु भएको हो।

विमानले ताप्लेजुङबाट पाँच जना यात्रु लिएर काठमाडौँतर्फ उडान भरेको छ। यसअघि गत जेठ २२ गते सुकेटारमा विमान आएको थियो।

दसैँ, तिहारलगायतका चाडपर्व तथा पर्यटकीय मौसम सुरु भएसँगै सुकेटारमा उडान नियमित गरिने जनाइएको छ। नेपाल वायुसेवा निगमका ताप्लेजुङ स्टेशन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार हाल काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडानका लागि सेप्टेम्बरसम्म सातामा एक दिन सोमबारको तालिका रहेको छ।

अक्टोबरदेखि भने सोमबार, बिहीबार र शनिबार गरी सातामा तीन दिन उडान सञ्चालन गर्ने तालिका तय गरिएको छ। नेपाल वायुसेवा निगमका अनुसार ताप्लेजुङबाट काठमाडौँसम्मको एकतर्फी हवाई भाडा प्रतिव्यक्ति १२ हजार ७० रुपैयाँ र काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको भाडा १२ हजार २७० रुपैयाँ रहेको छ।

ताप्लेजुङमा नियमित हवाई उडान नहुँदा ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक कामका लागि काठमाडौँलगायतका स्थानमा जानुपर्ने नागरिकलाई समस्या हुने गरेको स्थानीयवासीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्