बाढीपहिरोले मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध



मुस्ताङ,असोज १२ । निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले विद्युत् तथा इन्टरनेट संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङमा शनिबार रातिदेखि विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

वर्षाका कारण बाढीपहिरो तथा नदी कटानले पर्वतको डिमुवाबाट आउने ३३ केभी विद्युत् प्रसारण लाइनका खम्बामा क्षति पुगेपछि मुस्ताङको विद्युत् आपूर्ति बन्द भएको निलगिरि उपभोक्ता सहकारी संस्था, जोमसोमका प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो। पर्वत र म्याग्दी खण्डमा विद्युत् संरचनामा क्षति पुगेपछि म्याग्दीको दाना सबस्टेसनसमेत चार्ज हुन नसक्दा बन्द भएको उहाँले बताउनुभयो।

बाढीले विद्युत् र इन्टरनेट संरचनामा क्षति पुर्‍याएपछि म्याग्दीको उत्तरी क्षेत्रको अवस्थाबारे जानकारी लिनसमेत समस्या भएको थकालीले बताउनुभयो। आइतबार साँझसम्म म्याग्दीको बेनीसम्म विद्युत् प्रसारण लाइन मर्मत गरी सञ्चालनमा ल्याइएको छ। ३३ केभी प्रसारण लाइन र दाना सबस्टेसनको अवस्थाबारे थप अध्ययन गर्न जोमसोमबाट प्राविधिक टोली त्यसतर्फ पठाइएको उहाँले जानकारी दिनुभयो।

यसैगरी, मुस्ताङको थासाङ गाउँपालिका–३ का केही स्थानमा रुख ढलेर विद्युत्का खम्बामा क्षति पुगेको छ। मौसम खुलेपछि विद्युत् प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली त्यसतर्फ परिचालन गरिएको थकालीले बताउनुभयो। अवरुद्ध सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई कार्यस्थलमा खटाइएको र आज साँझसम्म विद्युत् सेवा नियमित गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ।

बाढीपहिरो तथा नदी कटानका कारण विद्युत्सँगै फाइबर इन्टरनेट प्रसारण लाइनमा क्षति पुगेपछि पछिल्लो ३६ घण्टादेखि मुस्ताङमा इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको नेपाल टेलिकम जोमसोम शाखाले जनाएको छ। पर्वत र म्याग्दीका दर्जनौँ स्थानमा फाइबर इन्टरनेटका संरचनामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको कार्यालय प्रमुख हुम भुजेलले जानकारी दिनुभयो।

अवरुद्ध संरचनाको मर्मत गरी म्याग्दीको बेनीसम्म इन्टरनेट सेवा सञ्चालनमा आइसके पनि म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा अझै सेवा सञ्चालन हुन नसकेको भुजेलले बताउनुभयो। म्याग्दीको बैसरी तथा मुस्ताङको लेतेलगायतका स्थानमा फाइबर प्रसारण लाइन मर्मत भइरहेको उहाँले जानकारी दिनुभयो।

अप्टिकल फाइबर सेवा अवरुद्ध भए पनि मुस्ताङका केही स्थानमा नेपाल टेलिकमको रेडियो लिङ्कमार्फत टेलिफोन तथा फोरजी सेवा सञ्चालन भइरहेको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि कोरला नाकासम्म सौर्य प्रविधिबाट रेडियो लिङ्क सञ्चालनमा रहेकाले त्यहाँ टेलिफोन तथा फोरजी सेवा चलिरहेको भुजेलले बताउनुभयो।

अवरुद्ध अप्टिकल फाइबर सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन प्राविधिक टोली परिचालन गरिएको र आज साँझसम्म सेवा नियमित गर्ने प्रयास भइरहेको नेपाल टेलिकम जोमसोम शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्