मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे छलफल
काठमाडौँ,असोज १३ । सभामुख डोलप्रसाद अर्यालको आह्वानमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका उपायबारे छलफल भएको छ ।
सभामुखको कार्यकक्षमा सोमबार आयोजित बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको सहभागितामा मानव–वन्यजन्तु द्वन्द्वका कारण र त्यसको न्यूनीकरण तथा व्यवस्थापनका उपायबारे छलफल भएको हो ।
छलफलमा तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन समाधानका उपाय समेटिएको कार्यदलको प्रतिवेदन तथा आवश्यक नीतिगत सामग्री प्रस्तुत गरिएको थियो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओली, नेकपा (एमाले)की सचेतक नीता घतानी तथा प्रतिनिधिसभा सदस्य सागर ढकालले प्रतिवेदनमाथि सुझाव दिएका थिए ।
उनीहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रतिवेदनमा उल्लेखित उपायलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार तथा सम्बन्धित मन्त्रालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

