बेनी–जोमसोम–कोरला सडकका ४६ स्थानमा बाढीपहिरोको क्षति



मुस्ताङ,असोज १३ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा भारी वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अजिता शर्माको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले सडक पूर्ण रूपमा सञ्चालनमा आउन एक साताभन्दा बढी समय लाग्ने जानकारी दिनुभयो ।

बैठकमा असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षा र हिमपातबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै आयोजना प्रमुख शर्माले पर्वत–मालढुङ्गा खण्डका पाँच, बेनीदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेसम्म १६ तथा म्याग्दी–मुस्ताङ सीमा काभ्रेभिरदेखि जोमसोम हुँदै कोरला नाकासम्म २५ स्थानमा क्षति पुगेको बताउनुभयो ।

भारी वर्षासँगै आएको बाढीपहिरोका कारण पर्वत–मालढुङ्गा खण्डको लाटीखोला, फर्से, जुकेखोला, केराबारी र लामाखेतमा सडक क्षतिग्रस्त भएको छ । बेनीदेखि रुप्सेसम्म गलेश्वर, रघुगङ्गा पुल, बैसरी, बेगखोला, महभिर, भिरकाटे, पोखरेबगर, तातोपानी, नारच्याङ, जलथले, सुकेबगर, खामभित्ता, दाना, लाटो खोला र रुप्से खोलालगायत स्थानमा लेदोसहितको बाढीपहिरो तथा नदी कटानले सडक संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ ।

त्यसैगरी काभ्रेभिरदेखि कोरला नाकासम्मको सडकखण्डमा पनि विभिन्न स्थानमा आंशिक तथा मध्यम क्षति पुगेको छ । खहरे खोला, घाँसा, कैकु खोला, लेते खोला, मार्फा, पान्डा खोला, एक्लेभट्टी, कागबेनी, तिरीबारी, ग्रीन ताङ्वे, ताङ्वे खोला र छुसाङ खोलामा सडकमा क्षति पुगेको आयोजना प्रमुख शर्माले बताउनुभयो ।

बाढीपहिरोका कारण मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ अन्तर्गत घ्याकर खोला, चैले, समर खोला, झो खोला, स्याङवचे, घमी, चराङ, छोसेर तथा लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालय नजिकको सडकमा समेत क्षति पुगेको छ ।

म्याग्दी खण्डमा केही स्थानमा सडक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको र तातोपानी–पोखरेबगर जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुलको पहुँचमार्गसमेत बाढीले क्षति पुर्‍याएको आयोजनाले जनाएको छ । पर्याप्त जनशक्ति र उपकरण व्यवस्थापन गर्न सके एक साताभित्र सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी अजिता शर्माले अवरुद्ध कोरला सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित सबै निकायसँग समन्वय र सहजीकरण भइरहेको बताउनुभयो । सडक अवरुद्ध हुँदा विभिन्न समस्या देखिन थालेको र धार्मिक पर्यटकको आवागमनसमेत प्रभावित भएकाले सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्