काठमाडौँ महानगरका ४ सय छात्रालाई आत्मरक्षा तालिम दिइने



काठमाडौँ,असोज १३ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले पहिलो चरणमा सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ४ सय छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिने भएको छ ।

महानगरपालिकाका अनुसार छात्रालाई हिंसा पहिचान गर्न तथा हिंसामा परेका बेला प्रतिरोध गरी आफूलाई सुरक्षित राख्न सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको हो ।

दुई दिन सञ्चालन हुने तालिम महानगरपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयमा सञ्चालन गरिनेछ । प्रत्येक विद्यालयबाट ४० जना छात्रा तालिममा सहभागी हुनेछन् ।

तालिममा सम्भावित हिंसाका घटना पहिचान गर्ने, जोखिमको अवस्थामा आफूलाई सुरक्षित राख्न अपनाउन सकिने उपाय तथा आत्मरक्षाका व्यावहारिक सीपबारे छात्रालाई प्रशिक्षण दिइने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्