गृहमन्त्रीको सचिवालयसँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा युवक पक्राउ



काठमाडौँ,असोज १३ । नेपाल प्रहरीले गृहमन्त्रीको सचिवालयका मानिससँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ घर भएका ३७ वर्षीय धर्मराज मल्ललाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार सामाजिक सञ्जालमा वैयक्तिक प्रतिष्ठा तथा सार्वजनिक मर्यादा विपरीतको अडियो सार्वजनिक भएको आरोपमा मल्ललाई पक्राउ गरिएको हो । उक्त अडियोको वास्तविकताबारे सोधपुछ गर्ने क्रममा मल्लले प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मल्लविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मल्लविरुद्ध यसअघि नै छवटा मुद्दा रहेको खुलेको छ । बाँकेमा दूरसञ्चार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता भई उनी फरार रहेको प्रहरीले जनाएको छ । यस्तै, बाँकेमै तीनवटा अभद्र व्यवहार, एउटा ठगी र एउटा बैंकिङ कसुरसम्बन्धी मुद्दासमेत मल्लविरुद्ध दर्ता रहेको प्रवक्ता थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्