म्याग्दीमा बाढीपहिरोबाट २०० परिवार विस्थापित



म्याग्दी, असोज १४ । असोज ८ देखि ११ गतेसम्म परेको वर्षा र त्यससँगै आएको बाढीपहिरोका कारण म्याग्दीमा हालसम्म २०० परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध हुनुका साथै सञ्चार, यातायात र विद्युत् सम्पर्क विच्छेद भएकाले बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलनमा ढिलाइ भएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बाढीपहिरोबाट हालसम्म २०० परिवार विस्थापित भएको जानकारी दिँदै क्षतिको विवरण सङ्कलनका लागि सुरक्षा निकाय र स्थानीय तहलाई परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा पहिरोमा मृत्यु भएका तथा बेपत्ताको खोजी र फसेकाको उद्धारलाई प्राथमिकता दिइएको छ ।

सडक सम्पर्क टुटेका प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाको हेलिकप्टरसमेत परिचालन गरिएको छ ।बाढीपहिरोमा परी जिल्लामा हालसम्म छ जनाको मृत्यु भएको र तीन जना बेपत्ता रहेको प्रशासनले जनाएको छ । विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा अस्थायी आश्रयस्थल बनाएर राखिएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ७८ जनालाई घार र शिखमा अस्थायी शिविर बनाएर राखिएको प्रजिअ गैरेले बताउनुभयो । उहाँका अनुसार बेपत्ता बेनी नगरपालिका–३ छेपारेकी कुमारी वली विक, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका मनोज गर्बुजा र अन्नपूर्ण–५ का ७५ वर्षीय ओमबहादुर तिलिजाको खोजी जारी छ ।

पहिरोमा परी अन्नपूर्ण–३ का शिलकुमारी पाइजा र योगमाया पाइजा, अन्नपूर्ण–८ का सविन गर्बुजा, मालिका गाउँपालिका–३ का चिरन पुन र देवबहादुर पुन तथा अन्नपूर्ण–५ की जेनी पुर्जाको मृत्यु भएको प्रशासनले जनाएको छ ।

पहिरोका कारण अवरुद्ध बेनी–बागलुङ सडकखण्ड आंशिक रूपमा सञ्चालनमा आएको छ । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार सडक डिभिजन कार्यालय बागलुङले हलुका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी भसभसे र खबरा क्षेत्रमा सडक मर्मत गरेको छ ।

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत बेनी–दरबाङ सडकको बेनी–तातोपानी खण्डमा एकतर्फी यातायात सञ्चालन गर्न मिल्ने गरी मर्मत गरेको छ । दरबाङतर्फबाट पनि सडक मर्मत सुरु गरिएको र फापरखेतको पहिरो क्षेत्रमा बुधबारदेखि मर्मत सुरु गरिने प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले जानकारी दिनुभयो ।

रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको मुस्ताङ र बेनी दुवैतर्फबाट मर्मत सुरु गरिएको छ । बेनीदेखि गलेश्वरसम्मको सडक मंगलबारदेखि सञ्चालनमा आएको छ ।

यसैबीच बेनी र आसपासका क्षेत्रमा मात्र सञ्चालनमा रहेको सञ्चार तथा विद्युत् सेवा सबैतिर नियमित गराउन नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणमार्फत मर्मतको काम भइरहेको प्रजिअ गैरेले बताउनुभयो । बेनी बजारमा वैकल्पिक मुहानबाट खानेपानी आपूर्ति गराउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्