नुवाकोटमा अनलाइनमार्फत उद्योग दर्ता सेवा सुरु
नुवाकोट,असोज १३ । विदुरस्थित उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय नुवाकोटले अनलाइनमार्फत उद्योग दर्ता सेवा सुरु गरेको छ । सेवाको सुरुवातसँगै उद्योगी, व्यवसायी तथा सेवाग्राहीलाई उद्योग दर्ताका लागि कार्यालयमा हुने झन्झट कम भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अनलाइनमार्फत उद्योग दर्ता गरेपछि सेवाग्राहीलाई प्रमाणपत्रसमेत अनलाइन माध्यमबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसबाट उद्योग दर्तासम्बन्धी सेवा सरल, सहज, पारदर्शी र प्रविधिमैत्री बन्ने कार्यालयले जनाएको छ ।
कार्यालयले अनलाइन उद्योग दर्ता सेवाको निरन्तर कार्यान्वयन गर्ने जनाएको छ । सेवाको सुरुवातसँगै उद्योग दर्तामा हुँदै आएको परम्परागत कागजी प्रक्रियामा कमी आउनुका साथै डिजिटल शासन र प्रविधिमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अनलाइन सेवाबाट सेवाग्राहीको समय तथा लागत बचत हुनुका साथै उद्योग दर्ता प्रक्रियामा सहजता आउने कार्यालयले जनाएको छ ।

