भोटेकोसी बाढीमा नुवाकोटका दुई हजार सात सय २३ बेपत्ता, बिदुर नगरकै ५८० जना



नुवाकोट,असोज १३ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमा मिसिएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण नुवाकोटमा दुई हजार सात सय २३ जना बेपत्ता भएका छन् । गत भदौ १० गते बिहान करिब १० बजे आएको प्रलयकारी बाढीले जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको हो ।

बाढीबाट नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीले बगाएर ल्याएका दुई सय चार जनाको शव हालसम्म फेला परेको छ । फेला परेका शवमध्ये ४८ जना महिला, ५० जना पुरुष र एक सय ६ जनाको लिङ्ग पहिचान हुन सकेको छैन ।

प्रशासनका अनुसार बेपत्ता हुनेमा चार सय ६७ महिलासहित दुई हजार तीन सय ६८ जना नेपाली नागरिक छन् । यस्तै, एक सय ७५ महिलासहित तीन सय ५५ जना विदेशी नागरिक बेपत्ता छन् । बाढीमा परेर घाइते भएका ६६ जनाको उपचार गरिएको प्रशासनिक अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए ।

बाढीमा परेका स्वदेशी तथा विदेशी गरी तीन हजार छ सय ३० जनालाई हेलिकप्टर तथा स्थलमार्गबाट उद्धार गरिएको नेपालले बताए । उनका अनुसार जिल्लाका सात वटा आश्रय केन्द्रमा ९० महिलासहित एक सय ७६ जना बसोबास गरिरहेका छन् ।

बाढीपीडितलाई आवश्यक परेको समयमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । राहत तथा उद्धारलाई प्रभावकारी बनाउन यातायात पूर्वाधार सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

नुवाकोटको सदरमुकामसमेत रहेको विदुर नगरपालिकामा मात्रै पाँच सय ८० जना बेपत्ता रहेको नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा धेरै विदुर नगरपालिका–१० मा दुई सय ४८ जना बेपत्ता छन् । यस्तै, वडा नं ७ मा एक सय १४, वडा नं १ मा ८५, वडा नं ९ मा ४५, वडा नं ८ मा २५, वडा नं ५ मा १७, वडा नं ४ मा १३, वडा नं ३ मा आठ, वडा नं ६ र १३ मा ६–६, वडा नं २ मा पाँच तथा वडा नं ११ र १२ मा चार–चार जना बेपत्ता रहेको नगरपालिकाले जनाएको छ ।

विदुर नगरपालिकाका अनुसार बाढीबाट एक हजार पाँच सय ३६ घर पूर्ण रूपमा क्षति भएका छन् । सबैभन्दा धेरै वडा नं १ मा चार सय एक घर पूर्ण क्षति भएका छन् । वडा नं ५ मा तीन सय ८७, वडा नं १० मा दुई सय ३२, वडा नं ७ मा एक सय ७५, वडा नं ९ मा एक सय ४८, वडा नं ४ मा ७५, वडा नं ६ मा पाँच र वडा नं ८ मा तीन घर पूर्ण रूपमा क्षति भएका छन् ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढी प्रभावितको लाभग्राही सूची सार्वजनिक गर्नुका साथै छुट दर्तासमेत गरिने बताए । बाढीबाट घर पूर्ण क्षति भई विस्थापित भएका तथा बाढीका कारण बेपत्ता भएका व्यक्तिका परिवारलाई लाभग्राही कायम गरिएको नगरपालिकाले जनाएको छ ।

लाभग्राहीको सूचीमा नाम छुटेको, विवरण फरक परेको वा अन्य कुनै त्रुटि रहेको भए सम्बन्धित व्यक्ति वा परिवारका सदस्यले आवश्यक प्रमाण तथा कागजातसहित सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा सम्पर्क गरी छुट दर्ता तथा विवरण सच्याउन निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्