बागलुङमा वर्षाजन्य विपद् : १२ जनाको मृत्यु, एक महिला बेपत्ता
बागलुङ,असोज १३ । बागलुङमा यही असोज ९, १० र ११ गते परेको अविरल वर्षाका कारण हालसम्म १२ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पहिरोमा पुरिएर पाँच पुरुष, चार महिला र तीन बालबालिकाको मृत्यु भएको हो। वर्षाका कारण जिल्लाका विभिन्न पालिकामा भएको क्षतिको विवरण संकलन तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वर्षाका कारण ५१ वटा घर पूर्ण रूपमा र ५१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, १० वटा गोठ पूर्ण र एउटा गोठ आंशिक रूपमा क्षति भएको छ।
वर्षाले तीन वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। दुई वटा प्रहरी कार्यालय र दुई वटा जलविद्युत् आयोजना आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। एउटा विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
यसैगरी, एउटा वडा कार्यालय, एउटा रिसोर्ट र एउटा कृषि फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। विपद्का कारण २५६ वटा पशुचौपाया र २१५ वटा कुखुरा समेत मरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रहरीका अनुसार क्षतिको थप विवरण संकलन तथा उद्धार कार्य भइरहेको छ। थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक याम नारायण अर्यालले जानकारी दिनुभएको छ।


