विश्व गोजु–रियो कराँते च्याम्पियनसिपमा सिन्धुपाल्चोकका दुई खेलाडी छनोट
सिन्धुपाल्चोक,असोज १३ । भारतको पुणेमा आयोजना हुने आठौँ विश्व गोजु–रियो कराँते च्याम्पियनसिपका लागि सिन्धुपाल्चोकका दुई खेलाडी छनोट भएका छन् ।
नेपाली राष्ट्रिय कराँते टोलीबाट प्रतिस्पर्धा गर्न चौतारा साँगाचोकगढी नगरपालिका–५ का ११ वर्षीय प्रेवल गुरुङ र १५ वर्षीया सन्ध्या श्रेष्ठ छनोट भएका हुन् ।
विश्व कराँते महासङ्घको मान्यताप्राप्त प्रतियोगितामा प्रेवलले ४३ केजीभन्दा माथिको तौल समूहमा तथा सन्ध्याले ४७ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरूले विश्वभरका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन जाने खेलाडी गुरुङ, श्रेष्ठ र प्रशिक्षक निराजन थापामगरलाई चौतारा साँगाचोकगढी नगरपालिकाले विशेष समारोहबीच बिदाइ गरेको छ ।
बिदाइ कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले शुभकामना दिँदै नगरका खेलाडीले सिन्धुपाल्चोकको मात्र नभई सिङ्गो नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा बढाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षक थापामगरका अनुसार प्रतियोगिता असोज १९ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । खेलाडी तथा प्रशिक्षकको टोली असोज १४ गते भारत प्रस्थान गर्नेछ ।

