बाढीले पुरेको घरको भग्नावशेषमा सुनचाँदी र नगद भेटियो



नुवाकोट,असोज १३ । नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूली बजारमा बाढीले पुरिएको घरको भग्नावशेष खन्ने क्रममा सुनचाँदीका गरगहना र नगद भेटिएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले स्थानीयवासी अनुज जोशीको घरको भग्नावशेषबाट झण्डै १५ तोला सुन, ६ तोला चाँदी र चार लाख रुपैयाँ नगद फेला पारेको हो।

खोज तथा उद्धारका क्रममा फेला परेको उक्त धनमाल सोमबार स्थानीयवासीको रोहवरमा सम्बन्धित घरधनी अनुज जोशीलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो।

सशस्त्र प्रहरीले विपद्पछि खोज तथा उद्धारका क्रममा फेला परेको धनमाल सुरक्षित राखी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्