नुवाकोट कांग्रेसमा दुई पक्ष स्पष्ट, संस्थापनले पालिका अधिवेशन गर्दा इतर पक्षको भेला



नुवाकोट,असोज १४ । नुवाकोटमा नेपाली कांग्रेसको संस्थापन र संस्थापन इतर पक्षबीचको विभाजन स्पष्ट रूपमा देखिएको छ। संस्थापन पक्षले मंगलबार जिल्लाका पालिकामा अधिवेशन गरेको छ भने संस्थापन इतर पक्षले बट्टारमा छुट्टै भेला आयोजना गरेको छ।

संस्थापन पक्षले नुवाकोटका १२ स्थानीय तहमध्ये अधिकांशमा पालिका अधिवेशन निर्विरोध रूपमा सम्पन्न गरेको जनाएको छ। केही पालिकामा भने निर्वाचनमार्फत नयाँ पदाधिकारी चयन भएका छन्।

कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतका अनुसार दुप्चेश्वर गाउँपालिकाको सभापतिमा शशि आचार्य, शिवपुरी गाउँपालिकामा प्रल्हाद थापा, तादी गाउँपालिकामा यादव खनाल, लिखु गाउँपालिकामा धनञ्जय उप्रेती, सूर्यगढी गाउँपालिकामा दीपेन्द्र गिरी, ककनी गाउँपालिकामा पम्वर लामा, पञ्चकन्या गाउँपालिकामा प्रकाशचन्द्र पण्डित र किस्पाङ गाउँपालिकामा क्षेत्र तामाङ सभापतिमा चयन भएका छन्। अन्य पालिकाको परिणाम आउन बाँकी रहेको सभापति महतले जानकारी दिए।

विदुर नगरपालिकामा भने निर्वाचनमार्फत सुजन गजुरेलको प्यानल र बद्रीप्रसाद रिमालको प्यानलबीच प्रतिस्पर्धा भएको छ।बेलकोटगढी नगरपालिका, म्यागङ र तारकेश्वर गाउँपालिकाको अधिवेशन भने स्थगित भएको कांग्रेसले जनाएको छ।

यसैबीच, बट्टारमा कांग्रेसको संस्थापन इतर अर्थात् देउवा पक्षीय भेला भएको छ। भेलामा केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुव अधिकारी, जिल्ला संयोजक श्रीराम श्रेष्ठलगायत नुवाकोटका दुवै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।सहभागीहरूले विधि र नीतिअनुसार कांग्रेसलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

कांग्रेस नुवाकोटका सभापति महतका अनुसार क्षेत्र नं. १ र २ को क्षेत्रीय अधिवेशनका लागि असोज १४ गते मनोनयन र असोज १५ गते मतदान गर्ने कार्यक्रम तय भएको छ। क्षेत्र नं. १ को अधिवेशन केन्द्र चौघडामा हुनेछ भने क्षेत्र नं. २ को अधिवेशनका लागि दुई केन्द्र तोकिएका छन्। केन्द्र १ बीपी स्मृति भवन, विदुरस्थित पार्टी कार्यालय र केन्द्र २ विदुर नगरपालिका–९ कोलोनी ब्याडमिन्टन हलमा मतदान हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्