विपद् उद्धार र पुनःस्थापनामा नेपाली सेनाको नेतृत्वदायी भूमिका



काठमाडौँ,कात्तिक ३०। प्राकृतिक विपद्का घटनामा नागरिकको जीवन रक्षा, उद्धार, राहत तथा पुनःस्थापनामा नेपाली सेनाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। पछिल्लो समय भोटेकोशी र बूढीगण्डकी बाढीसहित विभिन्न प्राकृतिक विपद्का घटनामा जोखिमपूर्ण उद्धार तथा राहत कार्य सञ्चालन गरी सेनाले आफ्नो व्यावसायिक क्षमता प्रदर्शन गरेको जनाएको छ।

नेपाली सेनाका सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार विपद् प्रभावित क्षेत्रमा हवाई, जमिनी तथा सुरुङभित्रका जोखिमपूर्ण उद्धार कार्यसँगै स्वास्थ्य सेवा, महामारी नियन्त्रण, मनोसामाजिक परामर्श र राहत सामग्रीको गुणस्तर परीक्षणजस्ता कार्यसमेत सञ्चालन गरिएको छ।

गत भदौ १० गतेको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा गम्भीर असर पुर्‍याएको थियो। बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्य जारी रहेकै अवस्थामा असोजमा भएको अविरल वर्षाले बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायतका जिल्लामा थप बाढी, पहिरो तथा डुबानको जोखिम सिर्जना गरेको थियो।

त्यस्तो विषम परिस्थितिमा नेपाली सेनाले स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ जनशक्ति परिचालन गरी खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण गरेको थियो। भोटेकोशी बाढीपछि भदौ २४ गतेसम्म चार हजार ८१ जनाको हवाई उद्धार गरिएको थियो। जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका तीन जनालाई १० दिनपछि जीवितै उद्धार गर्नु सेनाको उल्लेखनीय उपलब्धि बनेको छ।

विपद् प्रभावित क्षेत्रमा परिचालित इमर्जेन्सी मेडिकल रेस्पोन्स टिमले तीन हजार ५३५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो। महामारी नियन्त्रणका लागि निर्मलीकरण, मनोसामाजिक परामर्श तथा राहत सामग्रीको गुणस्तर परीक्षणजस्ता कार्य पनि सञ्चालन गरिएको सेनाले जनाएको छ।

असोजको अविरल वर्षा तथा बाढीका कारण पर्वत, बागलुङ, म्याग्दी र मनाङका जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई माध्यमबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। त्यस्तै, असोज २५ गते बूढीगण्डकी बाढीबाट प्रभावित स्वदेशी तथा विदेशी गरी एक हजार १०६ जनालाई हेलिकप्टर र स्थलमार्गबाट उद्धार गरिएको थियो।

सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गर्नुका साथै डुबानमा परेका घरका सामान सुरक्षित रूपमा निकाल्न पनि सेनाले सहयोग गरेको थियो।

विपद्पछिको पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणमा समेत सेनाले महत्त्वपूर्ण योगदान गरेको छ। भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल पुनः सञ्चालन गर्न देवीघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोब्रिज जडान गरी रसुवाको आवागमन सहज बनाउन सहयोग गरिएको थियो।

त्यस्तै, मनाङको चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालन गर्न, अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा सहयोग पुर्‍याउन तथा बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गर्न सेनाले भूमिका निर्वाह गरेको थियो। बूढीगण्डकी बाढीबाट क्षतिग्रस्त आरुघाटस्थित पुलको स्थानमा बेलिब्रिज जडान गरी सडक आयोजनालाई हस्तान्तरण गरिएको छ।

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले त्रिशूलीको मैथिली क्याम्पमा विपद् प्रतिकार्य ट्याक्टिकल मुख्यालय र रसुवाको धुन्चेमा अग्रिम कमान्ड केन्द्र स्थापना गरेको थियो। यसले फिल्ड तहका समस्या तत्काल समाधान गर्न तथा जनशक्ति र स्रोतसाधनको व्यवस्थित परिचालन गर्न सहयोग पुर्‍याएको सेनाले जनाएको छ।

नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुक भएकाले जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि, भौगोलिक बनावट तथा मौसमी प्रतिकूलताका कारण बाढी, पहिरो, डुबान, हिमपहिरो र भूकम्पजस्ता विपद् दोहोरिँदै आएका छन्। यस्तो अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तह, गैरसरकारी संस्था तथा समुदायबीचको समन्वय र सहकार्यले उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाएको छ।

सेनाको नेतृत्वमा सञ्चालन हुने संयुक्त विपद् प्रतिकार्य अभ्यास, पूर्वतयारी, तालिम तथा वास्तविक घटनास्थलमा गरिएको सहकार्यले विभिन्न निकायबीच कार्यगत एकरूपता कायम गर्न सहयोग पुर्‍याएको छ। प्रतिकूल मौसम, दुर्गम भूगोल र अवरुद्ध स्थलमार्गका बाबजुद ड्रोनजस्ता प्रविधिको उपयोग गरी राहत सामग्री ढुवानी तथा उद्धार कार्यलाई सहज बनाइएको पनि सेनाले जनाएको छ।

प्राकृतिक विपद् रोक्न नसकिए पनि प्रभावकारी पूर्वतयारी, समयमै उद्धार, राहत, पुनःस्थापना तथा आपसी सहकार्यबाट क्षति न्यूनीकरण गर्न सकिने नेपाली सेनाको भनाइ छ। विपद्का कठिन घडीमा नागरिकको जीवन रक्षामा अग्रपङ्क्तिमा रहेर काम गर्दै आएको सेनाको भूमिका मानवीय सेवा, राष्ट्रिय जिम्मेवारी र नागरिकप्रतिको प्रतिबद्धताको उदाहरण बनेको छ।

प्रतिक्रिया दिनुहोस्