जोरपाटी क्लबलाई ठमेल पर्यटन भेन्ट्रान्स कपको उपाधि



काठमाडौँ, असोज १४ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा भएको ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटी क्लबले जितेको छ।

४७औँ विश्व पर्यटन दिवसको अवसरमा परिषद्ले असोज ७ गतेदेखि आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको फाइनलमा जोरपाटी क्लबले ठमेल–११ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

उपाधिसँगै जोरपाटी क्लबले दुई लाख रुपैयाँ नगद, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता ठमेल–११ ले एक लाख रुपैयाँ नगद, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा ठमेल–११ का प्रकाश रानामगर उत्कृष्ट खेलाडी घोषित हुँदा जोरपाटीका धर्मेन्द्र लामा उत्कृष्ट गोलरक्षक, विपीन शाही उत्कृष्ट रक्षक र नितिन लामा उत्कृष्ट गोलकर्ता बने। ठमेल–११ का दीपक लामा म्यान अफ द म्याच तथा जोरपाटी क्लब ‘फेयर प्ले’ टोली घोषित भयो। विधागत विजेतालाई जनही पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको प्रशिक्षक प्रवीनराज वन्तले जानकारी दिनुभयो।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले खेलकुद पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले परिषद्ले दोस्रो संस्करणको ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ आयोजना गरेको बताउनुभयो। प्रतियोगिताले ठमेलको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्