खेलकुदमा तल्लो तहदेखि दीर्घकालीन लगानी आवश्यक : मन्त्री पोखरेल



काठमाडौँ, असोज १४ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदसहित ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षित नतिजा हासिल गर्न खेलकुदको तल्लो तहदेखि दीर्घकालीन लगानी आवश्यक रहेको बताउनुभएको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले विगतमा खेलकुदको ‘ग्रासरुट’ तहमा पर्याप्त र प्रभावकारी लगानी हुन नसक्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर भएको बताउनुभयो।

उहाँले खेलकुदमा आज लगानी गर्दैमा भोलि नै पदक वा अपेक्षित नतिजा हासिल नहुने भएकाले खेलाडी उत्पादनदेखि प्रशिक्षण र पूर्वाधार विकाससम्म दीर्घकालीन लगानी आवश्यक रहेको बताउनुभयो।

खेलकुद पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच समझदारी भई देशका २७ स्थानमा कभर्ड हल, क्रिकेट तथा फुटबल रङ्गशालालगायतका पूर्वाधार निर्माण अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

विभिन्न प्रतियोगितामा सफलता हासिल गरेका खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरिए पनि पुरस्कार प्राप्त गर्न बाँकी रहेका खेलाडीका लागि अर्थ मन्त्रालयसँग समन्वय गरी आर्थिक स्रोत सुनिश्चित गरेर उपलब्ध गराइएको मन्त्री पोखरेलले बताउनुभयो।

मन्त्री पोखरेलले घरेलु लिग सञ्चालनका विषयमा खेलाडीहरूसँग छलफल भइरहेको र घरेलु लिग सञ्चालनका लागि तयारी अघि बढाइएको जानकारी दिनुभयो। खेलाडीहरूसँगको छलफलमा लामो समयदेखि घरेलु लिग सञ्चालन नभएको विषय प्रमुख रूपमा उठेको उहाँले बताउनुभयो।

निजी क्षेत्रको लगानीमा फ्रेन्चाइज तथा कप मोडलका प्रतियोगिता सञ्चालन गर्न सरकार सकारात्मक रहेको मन्त्री पोखरेलको भनाइ छ। निजी क्षेत्रले नेपाल सुपर लिगलगायत फ्रेन्चाइज प्रतियोगिता सञ्चालन गर्न चाहेमा सरकारले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्