नुवाकोट र रसुवामा जागिरको अवसर
नुवाकोट, असोज १४ । बाल श्रमको अन्त्य तथा बाल अधिकार संरक्षणका क्षेत्रमा कार्यरत बाल श्रमिकका लागि नेपाल केन्द्रित संस्था (सिविन–नेपाल) ले रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायमा काम गर्न आठ जना सामाजिक परिचालक माग गरेको छ।
संस्थाले बुधबार सार्वजनिक गरेको कर्मचारी आवश्यकतासम्बन्धी सूचनाअनुसार सामाजिक परिचालक पदका लागि एक वर्षको करारमा आठ जना कर्मचारी माग गरिएको हो। छनोट हुने कर्मचारीको कार्यस्थल रसुवा र नुवाकोट जिल्ला रहनेछ।
सामाजिक परिचालकले बाल हेल्पलाइन १०९८ तथा स्थानीय सरकारसँग समन्वय गरी बाल संरक्षणसम्बन्धी काम गर्नुपर्नेछ।जोखिममा रहेका, अभिभावकविहीन वा असुरक्षित बालबालिकाको पहिचान गरी उचित संरक्षणका लागि समन्वय गर्ने, व्यक्तिगत केस व्यवस्थापनमा सहयोग गर्ने तथा बालबालिकाको आवश्यकताअनुसार व्यक्तिगत योजना तयार गरी कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने संस्थाले जनाएको छ।
त्यस्तै, परिवारमा पुनर्मिलन तथा पुनःस्थापनामा सहयोग गर्ने, स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, प्रहरी तथा अन्य सेवा प्रदायकसँग समन्वय गर्ने जिम्मेवारी पनि सामाजिक परिचालकको हुनेछ।
उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। बाल संरक्षणसम्बन्धी क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव भएकालाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।सामाजिक कार्यमा स्नातक गरेका तथा बाल संरक्षण, समुदाय परिचालन र केस व्यवस्थापनसम्बन्धी ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
स्थानीय सरकार, बाल हेल्पलाइन वा बाल संरक्षणसम्बन्धी क्षेत्रमा काम गरेको अनुभव भएका उम्मेदवारलाई समेत प्राथमिकता दिइने जनाइएको छ। उम्मेदवारमा मौखिक तथा लिखित सञ्चार, अभिलेख तथा कागजात व्यवस्थापन, गोपनीयता र समय व्यवस्थापनसम्बन्धी राम्रो क्षमता हुनुपर्नेछ।
सामाजिक परिचालकले स्थानीय समुदायमा बाल अधिकार, स्वास्थ्य, शिक्षा तथा मनोसामाजिक सहयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै बाढी प्रभावित समुदायमा संवेदनशीलताका साथ काम गर्नुपर्नेछ। लैङ्गिक समानता र समावेशी व्यवहार सुनिश्चित गर्दै नियमित अनुगमन, प्रतिवेदन तथा केसको अभिलेख राख्नुपर्ने संस्थाले जनाएको छ।
इच्छुक उम्मेदवारले अद्यावधिक बायोडाटा र संक्षिप्त निवेदनसहित [email protected] मा आवेदन पठाउन सक्नेछन्। आवेदन बुझाउने अन्तिम मिति २०२६ सेप्टेम्बर ३० तोकिएको छ। छोटो सूचीमा परेका उम्मेदवारलाई मात्र सम्पर्क गरिने संस्थाले जनाएको छ।

