एआईआईबीको उपसभापतिमा अर्थमन्त्री वाग्ले निर्वाचित



काठमाडौँ,असोज १४ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकले अर्थमन्त्री एवं एआईआईबीको गभर्नर परिषद्का गभर्नर डा. स्वर्णिम वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापति निर्वाचित गरेको छ।

क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाललाई उपसभापतिमा निर्वाचित गरिएको हो। बैठकमा सहभागी हुन डा. वाग्ले असोज १० गते कतारको राजधानी दोहा गएका थिए।

बैठकअन्तर्गत ‘गभर्नर्स बिजनेस राउन्डटेबल’ मा डा. वाग्लेले पूर्वाधारमार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिको प्रमुख स्रोत रहेको बताएका थिए। उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका प्रमुख साधनमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए।

नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउने उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए। साथै, स्वदेशी तथा विदेशी निजी पुँजी आकर्षित गर्ने गरी वित्तीय स्रोतको उपलब्धता बढाउनुपर्ने आवश्यकता पनि उनले औँल्याएका थिए।

बैठकका क्रममा डा. वाग्लेले एआईआईबीका अध्यक्ष तथा कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगका विषयमा छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्