झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन रोकियो



महेन्द्रनगर,असोज १४– कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएपछि आवागमन रोकिएको छ।

भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने उक्त पुलको दोधारातर्फको करिब पाँच–छ मिटर भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो।

उहाँका अनुसार आज बिहान पानीको बेगका कारण पुलको पिल्लर भाँचिएको हो। पिल्लर भाँचिएपछि पुलको उक्त भाग उठेर आवतजावतमा अवरोध भएको छ।

“झोलुङ्गे पुलको दोधारातर्फको पाँच–छ मिटर भागमाथि उठी आवतजावतमा समस्या भएको र पिल्लर भाँचिन गई बाटो अवरोध भएको छ,” प्रहरी नायब उपरीक्षक रावतले भन्नुभयो।

घटनापछि उक्त क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ। पुलको क्षतिग्रस्त भाग मर्मत गर्नुपर्ने भएकाले तत्काल आवागमन सुचारु हुन नसकेको प्रहरीले जनाएको छ।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराका अनुसार प्राविधिक टोलीले पुलको निरीक्षण गर्ने तयारी गरिएको छ। उहाँले पनि बिहान पानीको बेगका कारण पिल्लर भत्किएको बताउनुभयो।

करिब दुई दशकअघि निर्माण भएको उक्त झोलुङ्गे पुलले दोधारा–चाँदनीलाई देशको मूलधारसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्