बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र सेवा सुचारु गर्न सांसदहरूको माग
काठमाडौं, असोज १४ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न माग गरेका छन्।
सांसदहरूले महाकाली नदीमा दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल तथा कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङ, म्याग्दी, बागलुङ, स्याङ्जा र पाल्पालगायत जिल्लामा मोटरेबल पुल तथा सडकमा क्षति पुगेको जानकारी गराउँदै प्रभावित क्षेत्रमा विद्युत्, सञ्चार र सडक सेवा तत्काल सुचारु गर्न सरकारको ध्यानाकर्षण गराए।
बैठकमा सांसदहरूले मनाङमा गएको हिमपहिरोमा परी हराइरहेकाहरूको खोजीलाई तीव्रता दिन, विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउन सहजीकरण गर्न तथा बैंक खाता खोल्न नपाउँदा पोल्यान्डमा कार्यरत नेपाली युवाहरूले भोगिरहेको समस्या समाधानका लागि पहल गर्न सरकारसँग माग गरे।
यस्तै, चितवनको भरतपुरमा मानव बस्तीमा प्रवेश गरेको गैँडाले आक्रमण गर्दा एक जना घाइते भएको विषय उठाउँदै सांसदहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए। चाडपर्वका बेला बढेको बजार महँगी र कालोबजारी नियन्त्रण गर्न तथा सडकमा यात्रुको चाप बढ्ने भएकाले सडक सुरक्षालाई प्राथमिकता दिन पनि उनीहरूले माग गरे।
यसअघि बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाएका थिए।सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि श्रम, संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरिन्।

