भोटेकोशी बाढीबाट दूरसञ्चार संरचनामा साढे ८ करोडभन्दा बढीको क्षति
काठमाडौं, असोज १४ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा दूरसञ्चार सेवाका संरचनामा करिब ८ करोड ८५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताउनुभएको छ।
प्रतिनिधिसभा बैठकमा विभिन्न समयमा उठेका विषयमा जवाफ दिँदै मन्त्री तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा एक सय २० साइटबाट दूरसञ्चार सेवा सञ्चालन हुँदै आएकोमा तीनवटा साइट पूर्णरूपमा क्षतिग्रस्त भएको र ८३ वटा साइटमा आंशिक क्षति पुगेको जानकारी दिनुभयो। आंशिक क्षति पुगेका अधिकांश साइटहरू पुनः सञ्चालनमा आइसकेको उहाँले बताउनुभयो।
त्यस्तै, उक्त क्षेत्रमा रहेको ६५ दशमलव ३ किलोमिटर फाइबर लाइन नेटवर्कमध्ये ३७ दशमलव ९ किलोमिटरमा क्षति पुगेकोमा हालसम्म २७ दशमलव ४ किलोमिटर फाइबर लाइन मर्मत गरी सञ्चालनमा ल्याइएको मन्त्री तिमिल्सिनाले जानकारी दिनुभयो।बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका दुई सय ९१ दूरसञ्चार साइटमा समेत क्षति पुगेको उहाँले बताउनुभयो। तीमध्ये दुई सय ४६ वटा साइट सञ्चालनमा आइसकेका छन् भने बाँकी ४५ वटा साइटमा मर्मत तथा पुनःस्थापनाको काम भइरहेको मन्त्री तिमिल्सिनाले जानकारी दिनुभयो।
मन्त्री तिमिल्सिनाले पछिल्लो समय बढ्दै गएको सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि सरकारी निकायहरूले सक्रियता बढाएको बताउनुभयो। सामाजिक सञ्जालको व्यवस्थित नियमन तथा आवश्यक कानुनी व्यवस्था गर्न सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयक तर्जुमाको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो।

