जगात बसपार्क नजिकै मृत भेटिएका व्यक्ति रसुवाका जीवन विश्वकर्मा रहेको पुष्टि
काठमाडौं,असोज १४ । तारकेश्वर नगरपालिका–१, जगात बसपार्कभन्दा माथिल्लो क्षेत्रमा बुधबार मृत अवस्थामा भेटिएका व्यक्ति रसुवाको कालिका गाउँपालिकामा बस्दै आएका जीवन विश्वकर्मा रहेको पुष्टि भएको छ।
बुधबार दिउँसो बा ७३ प १८६९ नम्बरको मोटरसाइकल जगात बसपार्क नजिकै शिवपुरी जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको थियो। त्यसपछि प्रहरीले खोजी गर्ने क्रममा जगात बसपार्कभन्दा माथिल्लो क्षेत्रमा विश्वकर्मालाई मृत अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार मृतकको साथमा भेटिएको नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा उनको पहिचान खुलेको हो। प्रहरीले मृतकको परिवारसँग प्रत्यक्ष सम्पर्क गरी पहिचान पुष्टि गरेको जनाएको छ।
प्रहरीले शवलाई घटनास्थलबाट माथि ल्याएको छ। घटनाको थप अनुसन्धानका लागि प्रशिक्षित कुकुरको समेत प्रयोग गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

