मदन भण्डारी कपमा नेपाल पुलिस क्लबको लगातार दोस्रो जित
बुटवल,असोज १४ । बुटवलमा जारी मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेका छन् ।बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले भारतको खैरा भलिबल क्लब पञ्जाबलाई ३–१ को सेटमा पराजित गरेको हो। पुलिसले खैरामाथि २६–२४, २६–२४, २०–२५ र २५–१९ को जित निकालेको थियो।
समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै पुलिसको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ।
यसै समूहको अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले श्रीलङ्का पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। मणिमुकुन्दले श्रीलङ्का पुलिसमाथि २५–१९, २५–२० र २५–१६ को जित निकालेको हो।श्रीलङ्का पुलिसको भने यो लगातार दोस्रो हार हो। समूहको पहिलो खेलमा श्रीलङ्काको टोली नेपाल पुलिस क्लबसँग ३–० को सेटमा पराजित भएको थियो।
समूह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा सभापोखरी भलिबल क्लबले भारतको गुजरात स्पोर्टिङ्स क्लबलाई ३–० को सोझो सेटमा हराएको छ। भारतीय खेलाडीको वर्चस्व रहेको सभापोखरीले गुजरातमाथि २५–१८, २५–१३ र २५–२१ को जित निकालेको हो।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालका चार र विदेशका तीन गरी सात टोलीको सहभागिता रहेको छ। असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित सात लाख रुपैयाँ तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। तेस्रो हुने टोलीलाई एक लाख ७५ हजार रुपैयाँ र सान्त्वना हुने टोलीलाई ७५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गर्नुभएको थियो।

