मनाङको हिमपहिरोमा हराएका थप तीन जनाको शव भेटियो
मनाङ,असोज १४ । मनाङको हिमलुङ हिमपहिरोमा हराएका थप तीन जनाको शव बुधबार फेला परेको छ। यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या सात पुगेको छ भने अझै नौ जना सम्पर्कविहीन छन्।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बुधबार गोरखाका ५८ वर्षीय आश गुरुङ, खोटाङका २१ वर्षीय सुरज राई र रुकुमका ५७ वर्षीय कलम बुढाको शव फेला परेको हो। शव चामे ल्याइएको र बिहीबार बिहान त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइनेछ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको उद्धार टोलीले शव फेला पारेको हो। एसोसिएसनका अध्यक्ष तुलसिंह गुरुङका अनुसार हिमपहिरोमा हराएकाको खोजी कार्य जारी रहनेछ।
यसअघि आइतबार दुई तथा सोमबार दुई जनाको शव फेला परेको थियो। हिमपहिरो मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमाल क्षेत्रमा गएको हो।

