भोटेकोशी बाढी : खोज तथा उद्धारबाट ‘खोज तथा पुनर्स्थापना’ चरणमा जाने निर्णय



काठमाडौं,असोज १४ । भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई अब ‘खोज तथा पुनर्स्थापना’ चरणमा लैजाने निर्णय गरिएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले अत्यावश्यक स्थानमा खोजी कार्यलाई निरन्तरता दिँदै हालका लागि खोज तथा उद्धारबाट खोज तथा पुनर्स्थापनाको कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको बैठकले खोज तथा उद्धारमा खटिएका टोली र जिल्ला सुरक्षा समितिको सिफारिसलाई समेत ध्यानमा राखेर यस्तो निर्णय गरेको हो। बैठकले बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहले विवरण प्रमाणित गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने र जिल्ला प्रशासन कार्यालयले उक्त विवरण पुनः प्रमाणित गरी प्राधिकरणमा पठाउने व्यवस्था गर्ने निर्णय गरेको छ।

बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृतक वा मृतकसरह घोषणा गर्न आवश्यक कानुनी संशोधनका विषयमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले काम गरिरहेको बैठकमा जानकारी दिइएको छ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सम्भावित सुरक्षित स्थानमा विभिन्न साझेदार संस्थासमेत परिचालन गरी अस्थायी बसोबास निर्माण गर्ने निर्णय भएको छ। यसको नेतृत्व पूर्वाधार विकास मन्त्रालयले गर्नेछ।

बैठकले भोटेकोशी बाढी तथा त्यसपछिका मनसुनजन्य विपद्मा खोज, उद्धार तथा राहत वितरणमा खटिएका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, गैरसरकारी संस्था, स्थानीय समुदाय, स्वयंसेवक, स्थानीय प्रशासन, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा नागरिक समाजप्रति उच्च प्रशंसा गर्दै धन्यवाद दिएको छ।

त्यस्तै, स्वदेश तथा विदेशबाट नगद, खोज तथा उद्धार एवं राहत सामग्री उपलब्ध गराउने तथा खोज तथा उद्धारसम्बन्धी विशेषज्ञ टोली पठाउने मित्रराष्ट्रहरूप्रति पनि बैठकले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्