प्रधानमन्त्री शाहद्वारा सांसदलाई विज्ञताअनुसार मुलुक विकासमा योगदान दिन आग्रह
काठमाडौं,असोज १५ । प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभवअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद्को प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभएको हो।
प्रधानमन्त्री शाहले सांसदहरू प्राविधिक विषयमा जानकार हुनुका साथै मुलुकको नीति निर्माण गर्ने जिम्मेवारीमा रहेकाले देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो।
उहाँले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।
प्रधानमन्त्री शाहले सांसदहरूलाई परिवर्तनका संवाहकका रूपमा उल्लेख गर्दै उनीहरूले नयाँ उपाय र विचार अघि सारेर त्यसको कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो। नयाँ सोच र उपायका साथ काम गर्न सके पाँच वर्षमै मुलुकलाई विकासको नयाँ चरणमा पुर्याउन सकिने धारणा उहाँले राख्नुभएको थियो।

