भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो
भक्तपुर, असोज १५ । मानव निर्मित हात्ती ‘पुलुकिसी’लाई नगर परिक्रमा गराएर बुधबार भक्तपुरमा पुलुकिसी जात्रा मनाइएको छ। इन्द्रका वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा मनाइने जात्रा साँझ लाकुलाछेंबाट सुरु भएको थियो।
प्रत्येक वर्ष लाकुलाछेंबाट सुरु हुने जात्रामा बाँसबाट हात्तीको आकार बनाई सेतो कपडाले छोपेर पुलुकिसी तयार गरिन्छ। मानिसभित्र बसेर बोक्न मिल्ने गरी बनाइएको पुलुकिसीलाई भक्तपुर नगरका विभिन्न स्थानमा परिक्रमा गराइएको थियो। जात्रामा हजारौँ स्थानीय तथा दर्शक सहभागी भएका थिए।
विशेषगरी भक्तपुर दरबार क्षेत्र, टौमढी र दत्तात्रयलगायतका चोकमा जात्रा हेर्नेको भीड लागेको थियो। पुलुकिसी परिक्रमा गराउने क्रममा अगाडि बसेर घण्ट बजाउँदै यसको आगमनको सङ्केत दिने गरिएको थियो। साथै अगाडि छ्वाली बालेर बाटो देखाउँदै हिँड्ने दृश्यले जात्रालाई थप आकर्षक बनाएको थियो।
लाकुलाछेंबाट सुरु भएको पुलुकिसी पोटरी स्क्वायर, नासमना, इटाछे हुँदै दरबार स्क्वायर पुगेको थियो। त्यसपछि बालाखु, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै दत्तात्रय, इनाचो, गोल्मढी र टौमढी हुँदै पुनः लाकुलाछेंमा पुगेर जात्रा सम्पन्न गरिएको थियो।
भैरवनाथ जात्रा सहयोग समितिका अध्यक्ष शिवराम किजूका अनुसार पुलुकिसी जात्राका लागि आवश्यक सामग्री स्थानीयले नै व्यवस्थापन गर्ने गर्छन्। प्रत्येक वर्ष प्रयोग गरिएका सामग्री सुरक्षित रूपमा स्थानीय पाटीमा राखेर अर्को वर्ष पुनः प्रयोग गरिने उहाँले बताउनुभयो।
पुलुकिसीको सुँडले छुन नहुने जनविश्वाससमेत रहेको छ। सुँडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने विश्वासका कारण नगर परिक्रमा गराउँदा यसतर्फ विशेष ध्यान दिने गरिन्छ। तलातुंछीस्थित इनारमा पुगेपछि पुलुकिसीलाई पानी खुवाउने परम्परा पनि रहेको छ।
कला संस्कृति भजन महागुथिका संस्थापक अध्यक्ष डा. इन्दुल केसीका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफ्ना छोरा खोज्न ऐरावत हात्तीलाई पृथ्वीमा पठाएको किंवदन्तीका आधारमा यो जात्रा मनाउने गरिएको हो। पारिजात फूल टिप्न पृथ्वीलोक आएका इन्द्रका छोरालाई बन्धक बनाएपछि उनलाई खोजेर स्वर्ग लैजान ऐरावत हात्ती पृथ्वीमा घुमेको किंवदन्ती रहेको उहाँले बताउनुभयो।
पुलुकिसी जात्रा सम्पन्न भएसँगै भक्तपुरको इन्द्रजात्रा पनि सम्पन्न भएको छ।

