विदुरमा नेपाली कांग्रेसको नगर सभापतिमा सुजन गजुरेल निर्वाचित
विदुर,असोज १५। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको अधिवेशनबाट सुजन गजुरेल नगर सभापतिमा निर्वाचित भएका छन्।
प्रतिनिधिबीच भएको मतदानमा गजुरेलले २ सय ३१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी बद्रीप्रसाद रिमाललाई १९ मतले पराजित गरेका हुन्। रिमालले २ सय १२ मत प्राप्त गरे। रिमाल विदुर नगरपालिका–३ का वडाध्यक्षसमेत हुन्।
यसअघि अघिल्लो अधिवेशनमा रिमाल सभापतिका उम्मेदवार हरिलाल श्रेष्ठसँग एक मतले पराजित भएका थिए। नगर उपसभापति महिलातर्फ ज्ञानु थापा २ सय १८ मतसहित निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी रोजिनानिशा चित्रकारले २ सय ११ मत प्राप्त गरिन्। खुला उपसभापतिमा रविन्द्र रिजाल २ सय ४२ मतसहित निर्वाचित हुँदा केदारप्रसाद रिजालले १ सय ७० मत पाए।
सचिवमा राजकुमार अधिकारी २ सय १४ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी लोकनाथ रिसाल ‘लोकेश’ले २ सय ७ मत प्राप्त गरे। सहसचिवमा कविन्द्र अधिकारी २ सय ३१ मतसहित निर्वाचित हुँदा महेन्द्रबहादुर प्याकुरेलले १ सय ७० मत पाए।
खुला सदस्यतर्फ वडा नं. १३ बाट मानबहादुर तामाङ १ सय ८५ र वीरबहादुर तामाङ १ सय ७८ मतसहित निर्वाचित भएका छन। दलित सदस्यमा अनन्त मिजार १ सय ४९ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी नागेन्द्र मिजारले १ सय १७ र राजेन्द्र विकले १ सय ११ मत प्राप्त गरे। अधिवेशनका अन्य सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन्।
यसैबीच, नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत बुधबार विभिन्न पदका लागि मनोनयन दर्ता भएको छ। निर्वाचन समितिका अनुसार बिहीबार निर्वाचन हुँदैछ। नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा सभापति पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।
क्षेत्र नं. १ को सभापतिमा कुमार गुरुङ, जगदीश कुइकेल र रामेश्वर थापाले उम्मेदवारी दिएका छन्। क्षेत्र नं. २ को सभापतिमा सिंहराज तामाङ, आशाबहादुर तामाङ र राजन गजुरेलले उम्मेदवारी दिएका छन्।
संस्थापन इतर पक्षले नुवाकोटमा असोज १५ गते वडा, २० गते पालिका र २३ गते क्षेत्रीय अधिवेशनको कार्यतालिका तय गरेको छ। संस्थापन पक्षतर्फ भने क्षेत्रीय अध्यक्षसहित क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा हुने भएको छ। यसले संस्थापन पक्षभित्रको आन्तरिक प्रतिस्पर्धा पनि सतहमा ल्याएको छ।

