कम्युनिस्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको निधन
काठमाडौं,असोज १५ । नेपालको कम्युनिस्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको निधन भएको छ। भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बस्नेतको बुधबार साँझ निधन भएको हो। उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो।
बस्नेत पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध हुनुहुन्थ्यो। उहाँले लामो समय नेकपा एमालेमा रहेर राजनीति गर्नुभएको थियो। त्यसपछि नेकपा एकीकृत समाजवादी हुँदै उहाँ नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध हुनुभएको हो।
वि.सं. २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिनुभएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक हुनुहुन्थ्यो। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन तथा राजनीतिक संघर्षका क्रममा उहाँले करिब १७ वर्ष जेल जीवन बिताउनुभएको थियो।
यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवङ्गत नेता बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। अध्यक्ष ओलीले पुष्पगुच्छा अर्पण गर्दै बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो।

