चाडपर्वमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सांसदको माग
काठमाडौँ,असोज १५ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्व नजिकिँदै गर्दा बजारमा बढिरहेको महँगी तथा कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले किसानलाई समयमै मल, बिउबिजन र सिँचाइको सुविधा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । विशेषगरी तराईका जिल्लामा सिँचाइ सुविधाको अभाव तथा समयमै मल र बिउबिजन उपलब्ध नहुँदा किसानले समस्या भोग्नुपरेको भन्दै तत्काल समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने उहाँहरुको भनाइ थियो ।
सांसदहरुले नीलगाईलगायत वन्यजन्तुका कारण किसानले लगाएको खेतीमा भइरहेको क्षति नियन्त्रणका लागि आवश्यक व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।जोखिमयुक्त बस्तीमा तटबन्ध निर्माण तथा सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने मागसमेत उहाँहरुले राख्नुभयो ।
जलवायु परिवर्तनका कारण भूमिगत पानीको सतह घट्दै जाँदा देशका विभिन्न जिल्लामा खानेपानीको समस्या देखिएको भन्दै त्यसको दीर्घकालीन समाधान खोज्न सांसदहरुले आग्रह गर्नुभयो । साथै, हिउँदे धानको समर्थन मूल्य समयमै निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
भोटेकोशी बाढी तथा पछिल्लो समयको वर्षाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग र पुलमा क्षति पुगेको उल्लेख गर्दै सांसदहरुले क्षतिग्रस्त संरचनाको तत्काल मर्मत तथा पुनर्निर्माणको काम अघि बढाउन सरकारसँग माग गर्नुभयो ।

