चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको चाप
काभ्रे,असोज १५। दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
चाडपर्वका बेला बजारमा हुनसक्ने सम्भावित मूल्यवृद्धि नियन्त्रण गर्न हस्तक्षेप गर्ने तथा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सुलभ दरमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको पसलमा चाडपर्वका सामग्री खरिद गर्ने उपभोक्ताको चाप बढेको छ ।
बनेपाको तीनदोबाटोस्थित कर्पोरेशनको वितरण केन्द्रमा सञ्चालित सुपथ मूल्य पसल छठ पर्वसम्म सञ्चालन हुनेछ । शनिबारसहित हप्ताको सातै दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म पसल खुला रहनेछ ।
साल्ट ट्रेडिङ कर्पोरेशन बनेपा शाखाका कार्यालय प्रमुख सुरेन्द्र अवालेका अनुसार सुपथ मूल्य पसलका लागि विशेष मूल्यसूची निर्धारण गरिएको छ । पसलमा नुन प्रतिकिलो २४ रुपैयाँ र चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ ।
त्यस्तै, २५ किलोको भान्साघर स्टिम जिरा मसिनो चामलको मूल्य दुई हजार ५८० रुपैयाँ कायम गरिएको छ । मङ्गलम, पाल्की, निश्चल, नातिनातिनी र बहुलीलगायत विभिन्न ब्रान्डका चामलसमेत छुटसहित बिक्रीका लागि राखिएको छ ।
मूल्यसूचीअनुसार मुसुरो दाल प्रतिकिलो १४० रुपैयाँ, रहर दाल २१० रुपैयाँ, मास दाल २०५ रुपैयाँ र चना दाल १५५ रुपैयाँमा बिक्री भइरहेको छ । मुग दाल, विभिन्न प्रकारका सिमी तथा गेडागुडीसमेत छुट मूल्यमा उपलब्ध रहेको अवालेले बताउनुभयो ।
मनश्री र सिवालिक ब्रान्डका आटा तथा मैदा, कोदो र फापरको पिठो तथा मकै र जौको च्याख्लासमेत बिक्रीका लागि राखिएको छ । घिउ तथा तेलतर्फ डिडीसी घिउ एक हजार १४० रुपैयाँ, शान्ति तोरीको तेल ३८० रुपैयाँ र तृप्ति तोरीको तेल २७० रुपैयाँमा उपलब्ध छन् । सनबिम सूर्यमुखी तेलसमेत बिक्रीका लागि राखिएको छ ।
त्यस्तै, अर्गानिक लसुन, अदुवा, दालचिनी, खुर्सानी, बेसारलगायत मसला तथा विभिन्न ब्रान्डका चियासमेत उपलब्ध छन् । खाद्यान्नबाहेक अन्य घरायसी सामग्रीमा समेत सहुलियत दिइएको कर्पोरेशनले जनाएको छ ।
एसटिसी ग्यास सिलिन्डर दुई हजार १६५ रुपैयाँ, लुनारको दुई हजार वाटको इन्डक्सन कुकटप चार हजार ९६० रुपैयाँ र किनमेल गर्ने झोला ३५ रुपैयाँमा उपलब्ध रहेको कार्यालय प्रमुख अवालेले बताउनुभयो । उहाँले चाडपर्वका बेला आवश्यक उपभोग्य वस्तु सुलभ र सहज रूपमा खरिद गर्न उपभोक्तालाई आग्रह गर्नुभयो ।
खुला बजारको तुलनामा सुपथ मूल्य पसलमा खाद्यान्न तथा घरायसी सामान सस्तो दरमा पाएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । पसलमा सामान खरिद गरिरहनुभएकी बनेपाकी स्थानीय उपभोक्ता रमिता नेपालीले बजारमा महँगी बढिरहेका बेला साल्ट ट्रेडिङले चाडपर्वको मुखमा सस्तोमा नुन, तेल, चामल र दाल उपलब्ध गराउँदा सर्वसाधारणलाई ठूलो राहत भएको बताउनुभयो । “यसले घरखर्च चलाउन सहज भएको छ,” उहाँले भन्नुभयो ।
साल्ट ट्रेडिङले असोज १ गतेदेखि दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।कर्पोरेशनले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा समेत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ।

