स्थानीय निर्वाचनका लागि रास्वपाले गठन गर्‍यो केन्द्रीय उम्मेदवार छनोट समिति



काठमाडौँ,असोज १७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरेको हो।

समितिको सदस्यमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनकसिंह धामीलाई मनोनयन गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। समितिमा पार्टीका सातै प्रदेशका सभापति पदेन सदस्य रहनेछन्।

बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखसमेत मनोनयन गरेको छ। प्रवास सम्पर्क विभागको प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुविना आचार्य र सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाललाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महतो, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह, आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल र विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्दलाई प्रमुखको जिम्मेवारी दिइएको छ।

संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मीलाई प्रमुख र सम्राट बुढाथोकीलाई सदस्य मनोनयन गरिएको छ। वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मालाई प्रमुखको जिम्मेवारी दिइएको छ।

अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र तथा अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वोर कार्की ‘रोहन’लाई मनोनयन गरिएको छ। बैठकले केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। असोज २० देखि २७ गतेसम्म केन्द्रीय सदस्य तथा सांसदहरू ७७ जिल्लाका ७५३ पालिकासम्म पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गर्ने र सबै केन्द्रीय सदस्य तथा सांसदलाई अनिवार्य रूपमा परिचालन गर्ने निर्णय गरिएको छ।

यसैगरी, रास्वपा मधेस प्रदेशको सङ्गठनसम्बन्धी समस्या तथा समाधानका विषयमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएको छ। प्रतिवेदन अध्ययनपछि आवश्यक कदम चाल्ने बैठकले जनाएको छ।

पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता औँल्याउँदै काठमाडौँ उपत्यकाको पायक पर्ने स्थानमा पार्टीका लागि जमिन वा घर खरिद गर्न खोजी गर्ने र त्यसका लागि पार्टी सदस्य तथा शुभेच्छुकलाई सहयोग गर्न अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकले नेपालीका प्रमुख चाड शुभ विजयादशमी, शुभ दीपावली, नेपाल संवत्को नयाँ वर्ष तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्