आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं,असोज २३ । मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । ती भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
शनिबार पनि कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । तराईका भूभागमा भने आंशिक बादल लाग्नेछ ।
शनिबार कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

