नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा सम्पन्न उच्चस्तरीय द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त समझदारी सार्वजनिक गरिएको हो ।
समझदारीअनुसार दुवै देशबीच शैक्षिक तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपन्छी तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गरिनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार भारतको गुजरातस्थित राष्ट्रिय विधिविज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने समझदारी भएको छ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच पनि सहकार्यसम्बन्धी समझदारी भएको छ ।
यसैगरी, नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने, आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिको विकास र प्रवर्द्धन गर्ने विषयमा पनि दुवै देशबीच समझदारी भएको छ ।
दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना, दिगो सहरी विकासमा प्राविधिक सहयोग तथा स्वास्थ्य र चिकित्सा क्षेत्रमा सहकार्य गर्ने विषय पनि समझदारीमा समेटिएका छन् ।
त्यसैगरी, पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा समेत नेपाल र भारतबीच सहकार्य गर्ने समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

