एमालेले मङ्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने
काठमाडौँ,असोज २३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मङ्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलासहित वडा र पालिका अधिवेशनको मिति तय गरेको हो ।
एमालेका प्रचार विभाग प्रमुख नीरज आचार्यले राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष र उपाध्यक्ष तथा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो ।
बैठकले वडा अधिवेशन मङ्सिर २६ गते र पालिका अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको छ । वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गरिने आचार्यले बताउनुभयो ।
त्यसैगरी बैठकले मधेश प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्ने सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा बन्दसूचीको क्रम सङ्ख्या ४० मा रहनुभएकी नाजमा खातुनलाई मनोनयनका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले रिक्त जिल्ला नेतृत्वको व्यवस्थापनसम्बन्धी निर्णयसमेत गरेको छ । आचार्यका अनुसार सम्बन्धित जिल्लाबाटै अध्यक्ष तोकी जिल्ला कमिटीलाई आयोजक सङ्गठन कमिटीका रूपमा रूपान्तरण गर्ने र अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णय भएको छ ।

