मकवानपुरमा व्यावसायिक कुखुरापालन विस्तार, दैनिक साढे चार लाखसम्म अण्डा उत्पादन
मकवानपुर,असोज २३ । मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । करिब तीन दशकअघि सुरु भएको कुखुरापालन व्यवसाय जिल्लाका विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ भने यहाँ उत्पादित कुखुरा र अण्डाले काठमाडौँ, वीरगन्ज तथा मधेसका विभिन्न बजारमा स्थान पाउँदै आएका छन् ।
मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोविन्द सापकोटाका अनुसार जिल्लामा विसं २०५२/५३ तिर हेटौँडाको कमानेबाट व्यावसायिक कुखुरापालन सुरु भएको थियो । अहिले गढी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका १६ र १७ नम्बर वडालगायतका क्षेत्रमा यो व्यवसाय विस्तार भएको छ ।
जिल्लामा लेयर्स र ब्रोइलर गरी १० लाखभन्दा बढी कुखुरा पालिँदै आएको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँका अनुसार उत्पादित कुखुराको बजारमा समस्या छैन । काठमाडौँ, वीरगन्ज र मधेसका विभिन्न स्थानमा मकवानपुरमा उत्पादित कुखुरा बिक्री हुने गरेको छ ।
जिल्लामा करिब ४०० कुखुरापालक व्यवसायी रहेको सङ्घले जनाएको छ । ठूलो सङ्ख्यामा कुखुरापालन गर्ने व्यवसायी पाँचदेखि छ जनामात्रै छन् भने १० हजारदेखि २० हजारसम्म कुखुरा पाल्ने व्यवसायीको सङ्ख्या केही बढी रहेको छ ।
मकवानपुरमा कुखुरापालनसँगै अण्डा उत्पादन पनि उल्लेख्य रहेको छ । सङ्घका जिल्ला उपाध्यक्ष रविन ढकालका अनुसार जिल्लामा दैनिक चार लाखदेखि साढे चार लाखसम्म अण्डा उत्पादन हुने गरेको छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न बाहिरबाट आयात हुने कुखुरा तथा अण्डालाई निरुत्साहित गर्ने नीति आवश्यक रहेको उपाध्यक्ष ढकालले बताउनुभयो । स्थानीय किसानको उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्न सके जिल्लाको कुखुरापालन व्यवसाय थप विस्तार हुनुका साथै किसानलाई प्रोत्साहन मिल्ने उहाँको भनाइ छ ।

