विदुर–५ का ५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण



नुवाकोट,असोज २३ । नुवाकोटको विदुर नगरपालिका–५ मा बाढी प्रभावित तथा अन्य गरी ५० जना गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त आहार वितरण गरिएको छ।

नेपाल सहायता फाउन्डेसनको सहयोगमा वडा कार्यालयले कार्यक्रम आयोजना गरेको हो। वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष लिलानाथ न्यौपाने तथा संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा लक्षित महिलाहरूलाई पोषण सामग्री हस्तान्तरण गरिएको थियो।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपहिरोबाट प्रभावित तथा पोषणको जोखिममा रहेका आमा र शिशुको स्वास्थ्य सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको जनाइएको छ।

विपद्का कारण उत्पन्न कठिन परिस्थितिमा गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सहयोग गरेको भन्दै वडा कार्यालयले नेपाल सहायता फाउन्डेसन र संस्थाका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्