कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो



नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको हो।

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जनाएको छ। मतदान गर्न एक जना प्रतिनिधिलाई कम्तीमा आधा घण्टा लाग्ने र मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन भएपछि समय थप गरिएको हो।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्।

महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन गर्न प्रतिनिधिहरूले २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय साँझ ५ बजेसम्म थप गरिएको जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्