बिटौरी जग्गा दर्ता गर्न समिति गठन आदेश स्वीकृत
काठमाडौं,असोज २३। सरकारले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त गठन आदेश स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो।
बैठकले विश्व बैंकसँग नेपाल भूकम्प विपद् बन्डसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न पनि स्वीकृति दिएको छ। भूकम्पबाट उत्पन्न हुन सक्ने विपद्को आर्थिक जोखिम व्यवस्थापनका लागि उक्त बन्डसम्बन्धी सम्झौता गर्न लागिएको हो।
त्यस्तै, जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
यसैगरी, नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिनुभयो।

