पञ्चकन्याका बाढीपहिरो प्रभावितलाई आर्थिक सहयोग



नुवाकोट,असोज २३। पञ्चकन्या गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहतका लागि स्थानीय बालक्लब, शिक्षक तथा स्वास्थ्य स्वयंसेविकाहरूले नगद सहयोग गरेका छन्।

गएको भदौ ४ र ५ गते परेको अविरल तथा भीषण वर्षाका कारण गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढीपहिरोबाट क्षति पुगेपछि प्रभावित नागरिकको सहयोगका लागि राहत रकम संकलन भइरहेको छ।

यसै क्रममा पञ्चकन्या माध्यमिक विद्यालयका बालक्लब तथा शिक्षकहरूबाट १७ हजार ६९१ रुपैयाँ र भद्रुटारका स्वास्थ्य स्वयंसेविकाहरूबाट १८ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ। दुवै पक्षबाट प्राप्त कुल ३५ हजार ६९१ रुपैयाँ गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङलाई हस्तान्तरण गरिएको हो।

राहत सहयोगप्रति आभार व्यक्त गर्दै अध्यक्ष तामाङले सहयोग गर्ने शिक्षक, बालक्लबका सदस्य तथा स्वास्थ्य स्वयंसेविकाहरूलाई धन्यवाद दिनुभयो। उहाँले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आगामी दिनमा पनि सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष विमला तामाङले पनि विपद्का बेला सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।

स्थानीयस्तरबाट प्राप्त यस्ता सहयोगले विपद् प्रभावित नागरिकलाई राहत पुर्‍याउनुका साथै समुदायमा आपसी एकता, सहकार्य र मानवीय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्