नेप्से १७ अङ्कले बढ्यो, साढे चार अर्बभन्दा बढीको कारोबार
काठमाडौँ,असोज २३। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १७ दशमलव १५ अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक बढेर दुई हजार ५९१ दशमलव ८० विन्दुमा पुगेको हो।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८० अङ्कले बढेर ४६५ दशमलव ८५ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक एक दशमलव ४२ अङ्कले बढेर १७९ दशमलव १० र सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५० अङ्कले बढेर १५७ दशमलव ४६ विन्दुमा पुगेको छ।
आज विभिन्न कम्पनीका एक करोड २९ लाख पाँच हजार ९४२ कित्ता शेयर चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबार भएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। आज १८० कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कुथेली बुखरी स्मल हाइड्रोपावर, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन्। यस्तै, रियलाइज्ड लाइन इनर्जी कम्पनी, आईसीएफसी फाइनान्स डिबेन्चर र प्राइम डिबेन्चरलगायतका लगानीकर्ताले गुमाएका छन्।

