पृथ्वी राजमार्ग अवरुद्ध, मछेडीमा ग्यास बुलेट पल्टियो, गलौदीमा सडक भासियो



धादिङ,असोज २३ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मछेडीमा ग्यास बुलेट पल्टिनुका साथै गलौदीमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ।

गल्छी नजिकै पर्ने मछेडीमा ग्यास बुलेट पल्टिएको छ भने गजुरी नजिक काठमाडौँतर्फको गलौदीमा सडक भासिएको हो। ग्यास बुलेट पल्टिएपछि ग्याससमेत चुहिएकाले गलौदी क्षेत्रमा पुगेर सडक खुलाउने काम अघि बढाउन कठिनाइ भइरहेको जनाइएको छ।

गलौदीमा भासिएको सडकको भाग पछाडितर्फबाट काटेर सडक खुलाउनुपर्ने देखिएको छ। रातिको समय भएकाले घटनास्थलमा खटिएको टोलीले अवस्थाको निरीक्षण गरी आवश्यकताअनुसार जनशक्ति तथा उपकरण परिचालन गर्ने तयारी गरेको छ।

राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। सडक खुलाउने काम कहिलेदेखि सुरु हुने र यातायात कहिले सञ्चालनमा आउने भन्नेबारे स्पष्ट भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्