मतपत्र वितरणमा लापरबाही भएको बहादुरसिंह लामाको आरोप



काठमाडौं,असोज २३। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतदान प्रक्रियामा मतपत्र वितरणमा गम्भीर लापरबाही भएको भन्दै सहमहामन्त्री पदका उम्मेदवार बहादुरसिंह लामाले आपत्ति जनाउनुभएको छ।

लामाले जारी गरेको विज्ञप्तिमा बागमती प्रदेशको मतदान केन्द्रमा जनजाति समूहअन्तर्गत सहमहामन्त्री पदका लागि मतपत्र दिनुपर्नेमा पटक–पटक खस–आर्य समूहको मतपत्र वितरण गरिएको उल्लेख गर्नुभएको छ।

लोकतान्त्रिक पार्टीको आन्तरिक निर्वाचनमा यस्तो त्रुटिलाई सामान्य प्राविधिक गल्तीका रूपमा मात्रै लिन नसकिने उहाँको भनाइ छ। यसले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको भन्दै लामाले कुनै निश्चित समूहलाई फाइदा पुर्‍याउने उद्देश्यले यस्तो गरिएको हुन सक्ने आशङ्कासमेत व्यक्त गर्नुभएको छ।

बागमती प्रदेशमा देखिएको त्रुटि अन्य प्रदेश तथा मतदान केन्द्रमा पनि दोहोरिएको हुन सक्ने भन्दै उहाँले निर्वाचन प्रक्रियाको निष्पक्षता र पारदर्शितामाथि गम्भीर चासो व्यक्त गर्नुभएको छ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनाउने र कार्यकर्ताको मताधिकारमाथि खेलबाड गर्ने गतिविधि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ। लामाले मतपत्र वितरणमा देखिएका त्रुटि तत्काल सच्याउन र सम्बन्धित पक्षलाई यस विषयमा गम्भीर हुन आग्रह गर्नुभएको छ।

समयमै समस्या समाधान नभए कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत उहाँले दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्