कुम्भेश्वर माविमा पुरस्कार तथा छात्रवृत्ति वितरण, शिक्षक–अभिभावक संघ गठन



नुवाकोट,असोज २३ । शिवपुरी गाउँपालिका–७ सुनखानीस्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन, एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीको सम्मान तथा पुरस्कार र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजकुमार तामाङको सभापतित्व तथा शिवपुरी गाउँपालिका–७ का वडाध्यक्ष वीरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुका साथै शैक्षिक सामग्री वितरण गरिएको थियो। कार्यक्रममा पूर्ववडाध्यक्ष माधवप्रसाद भेटुवाल, समाजसेवी शिव गुणी, मुकुन्दप्रसाद पाण्डेलगायत अतिथि, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यक्रममा स्व. वेदमाया गुणीको स्मृतिमा समाजसेवी शिव गुणीले एसईई २०८२ मा विद्यालयबाट सर्वाधिक जीपीए प्राप्त गर्ने छात्रा शीतल पाठकलाई १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्नुभयो। सोही स्मृतिमा अर्का एक दलित विद्यार्थीका लागि पाँच हजार रुपैयाँ छात्रवृत्तिको व्यवस्था गरिएको छ।

त्यसैगरी, स्व. ताराप्रसाद भेटुवालको स्मृतिमा माधवप्रसाद भेटुवालले दुई विद्यार्थीलाई जनही दुई हजार रुपैयाँ, स्व. नरेन्द्रराज पाण्डेको स्मृतिमा मुकुन्दप्रसाद पाण्डेले एक छात्र र एक छात्रालाई जनही दुई हजार पाँच सय रुपैयाँ छात्रवृत्ति प्रदान गर्नुभयो। स्व. रामप्रसाद पाण्डेको स्मृतिमा राजु पाण्डेले दुई विपन्न तथा योग्य विद्यार्थीलाई क्रमशः एक हजार र पाँच सय रुपैयाँ छात्रवृत्ति उपलब्ध गराउनुभयो।

विद्यालयको वार्षिक पुरस्कार तथा विद्यार्थी प्रोत्साहन कार्यक्रमका लागि शिवपुरी–७ का स्थानीय युवा वीरेन्द्र पाण्डेले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई कापी, कलम र ज्यामितीय सामग्रीलगायत शैक्षिक सामग्री उपलब्ध गराउन आर्थिक सहयोग गर्नुभएको थियो। राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कांस्य पदक प्राप्त गर्ने खेलाडी तथा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कार र शैक्षिक सामग्री वितरण गरिएको थियो।

विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विद्यालय र अभिभावकबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रममा शिक्षक–अभिभावक संघसमेत गठन गरिएको छ। गठित संघको अध्यक्षमा हरिप्रसाद उप्रेती चयन हुनुभएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विजया दशमीको शुभकामना आदानप्रदान गर्नुका साथै विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। छात्रवृत्ति, पुरस्कार र शैक्षिक सामग्री वितरणले विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन तथा शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्न प्रोत्साहन पुग्ने विद्यालयको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्