मौसममा सुधार आएपछि धवलागिरि हिमालको आरोहण पुनः सुरु
म्याग्दी,असोज २४ । प्रतिकूल मौसमका कारण स्थगित भएको धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ। असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएपछि पुनः आधार शिविर पुगेर चुचुरोतर्फ अघि बढेको हो।
विश्वको सातौँ अग्लो आठ हजार १६७ मिटर उचाइको धवलागिरि हिमालको आरोहणका लागि डोरी टाँग्ने टोली दोस्रो शिविरभन्दा करिब ४०० मिटर माथि पुगेको सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रतिकूल मौसमका कारण कम्पनीका नेपाली तथा विदेशी गरी १४ जनालाई हेलिकप्टरबाट उद्धार गरेर असोज ८ गते पोखरा ल्याइएको थियो। मौसममा सुधार आएपछि अक्टोबर १ मा पोखराबाट गएको टोली पुनः आधार शिविर पुगेर आरोहणमा जुटेको हो।
असोज ८ देखि ११ गतेसम्म लगातार वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीले आरोहण स्थगित गरेका थिए। मौसम अनुकूल बनेपछि आधार शिविरमा रहेको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरी पुनः यात्रा अघि बढाएको आरोहण टोलीका प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।
शेर्पाका अनुसार अहिले हिउँ जमेर कडा र स्थिर अवस्थामा रहेकाले हिँडडुल गर्न सहज भएको छ। भारी हिमपातपछि अस्थिर हिउँको ठूलो हिस्सा हटेकाले हिमपहिरोको जोखिमसमेत तुलनात्मक रूपमा कम भएको उहाँले बताउनुभएको छ।
पर्यटन विभागका अनुसार चालु शरदयाममा धवलागिरि हिमाल आरोहणका लागि चार समूहका २६ पुरुष र १० महिला गरी ३६ जनाले अनुमति लिएका छन्। आरोहण अनुमतिबापत रु ८२ लाख ४२ हजार ५० राजस्व सङ्कलन भएको विभागले जनाएको छ। म्याग्दीको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनका अनुसार अन्य कम्पनीका पर्वतारोही टोली पनि धवलागिरि आधार शिविर पुगिसकेका छन्।
गत वसन्तयाममा धवलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका थिए। मौसम छिनछिनमै परिवर्तन भइरहनु यस हिमालको आरोहणमा प्रमुख चुनौती मानिन्छ। अन्य हिमालको तुलनामा धवलागिरि आरोहण कठिन र जोखिमपूर्णसमेत मानिन्छ।
सन् १९६० मे १३ मा म्याक्स आइसेलिनको नेतृत्वमा रहेको स्वीस–अस्ट्रियाली संयुक्त आरोहण दलले पहिलोपटक धवलागिरिको शिखरमा पाइला राखेको थियो। आरोहण सुरु भएको ६६ वर्षको अवधिमा ७३३ जना पर्वतारोही शिखरमा पुगिसकेको विवरण छ।
धवलागिरि क्षेत्रमा हिमाल आरोहणसँगै ‘राउन्ड धवलागिरि’ पदयात्रा पनि लोकप्रिय छ। बगरबाट सुरु हुने यो पदयात्रा सल्लाघारी, इटाली आधार शिविर, जापानी आधार शिविर, धवलागिरि आधार शिविर, हिटिनी भ्याली आधार शिविर र याकखर्क हुँदै मुस्ताङको मार्फामा पुगेर नौ दिनमा पूरा हुन्छ।

