बेलिब्रिज सञ्चालनमा आएसँगै रसुवा सडक सञ्जालमा जोडियो
नुवाकोट,असोज २५ । भोटेकोशी बाढीपछि सडक सञ्जालबाट विच्छेद भएको रसुवा जिल्लासँग आजदेखि पुनः सडक सम्पर्क स्थापित भएको छ। नेपाली सेनाले नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसँगै रसुवा र नुवाकोटबीच यातायात सेवा पुनः जोडिएको हो।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बेत्रावतीस्थित विदुर नगरपालिका–१० र उत्तरगया गाउँपालिका–५ जोड्ने दुईवटा पक्की पुल बगाएपछि रसुवा र नुवाकोटबीचको सडक सम्पर्क टुटेको थियो।
नेपाली सेनाले पाँच दिनमा निर्माण सम्पन्न गरेको बेलिब्रिज सञ्चालनमा आएपछि नुवाकोट र रसुवाका नागरिकलाई आवतजावत गर्न तथा बाढी प्रभावित क्षेत्रमा राहत र अत्यावश्यक सामग्री ढुवानी गर्न सहज भएको सेनाका उपरथी अनुपजङ्ग थापाले बताउनुभयो।
पुल सञ्चालनमा आएपछि उपरथी थापाले पुल निर्माणसम्बन्धी प्राविधिक विवरणसहितको प्रतिवेदन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख कृष्णनाथ ओझालाई हस्तान्तरण गर्नुभयो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार नवनिर्मित बेलिब्रिज ४० टन भारवहन क्षमताको छ। पुलको लम्बाइ ७३ दशमलव २ मिटर र चौडाइ ५ दशमलव ५ मिटर रहेको छ।
बेलिब्रिज सञ्चालनमा आएसँगै नुवाकोटको विदुरबाट बेत्रावती हुँदै रसुवाको धुञ्चेसम्म पुग्न सहज भएको छ। बेत्रावतीको पुल पार गरेर पासाङल्हामु सडकमार्ग हुँदै धुञ्चे र स्याफ्रुबेँसी क्षेत्रसम्म सवारीसाधन सञ्चालन गर्न सकिने भएपछि बाढी प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री पुर्याउन सहज हुने भएको छ।
यसैगरी, गल्छी–रसुवागढी सडकअन्तर्गत स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक सञ्चालनका लागि पनि बेत्रावतीमा निर्माण भएको बेलिब्रिजले सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यसँगै राहत र अत्यावश्यक सामग्री उपलब्ध गराउने काम जारी राखेको छ।
यसअघि भोटेकोशी बाढीबाट क्षति पुगेको नुवाकोटको देवीघाटस्थित तादी खोलामा पनि नेपाली सेनाले बेलिब्रिज जडान गरी नुवाकोट र धादिङबीचको यातायात सम्पर्क पुनः स्थापित गरेको थियो। बाढीबाट क्षति पुगेका अन्य स्थानमा समेत पुल र सडक सञ्जाल सञ्चालनमा ल्याउन नेपाली सेनाले आवश्यक सहजीकरण गरिरहेको जनाएको छ।

