दसैँलाई लक्षित गर्दै बीपी राजमार्ग मर्मत तीव्र, पुनर्निर्मित सडकबाटै आवागमन



काभ्रेपलाञ्चोक,असोज २५ । दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पुनर्निर्मित सडकबाटै सवारीसाधन सञ्चालन हुन थालेका छन्। दसैँमा यात्रुलाई सहज आवागमन गराउने उद्देश्यले सडक मर्मत तथा सुधारको काम तीव्र पारिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

विसं २०८१ असोजको बाढीपहिरोले करिब ३० किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालन गरिँदै आएको थियो। तर, यही असोजमा आएको बाढीले डाइभर्सन बगाएपछि अहिले पुनर्निर्मित पुरानै सडकबाट आवागमन गराइएको हो।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार केही साँघुरा तथा जोखिमयुक्त स्थानमा डाइभर्सन बनाएर दुईतर्फी यातायात सञ्चालन गरिएको छ। चौकीडाँडा र पिन्थलीमा भिरालो सडकको मर्मत भइरहेको छ भने डालाबेँसी–पिप्ले खण्डको करिब २०० मिटर क्षेत्रमा डाइभर्सन प्रयोग गरिएको छ।

पुनर्निर्मित सडकबाट आवागमन भइरहे पनि हालसम्म जामको समस्या नरहेको कार्यालयले जनाएको छ। वर्षाका कारण पहिरो जाने, लेदो थुप्रिने वा सडक अवरुद्ध हुने अवस्था आए तत्काल खुलाउने गरी आवश्यक उपकरण र सामग्री तयारी अवस्थामा राखिएको योगेशले बताउनुभयो। उहाँका अनुसार अवरुद्ध सडकलाई सम्भव भएसम्म आधा घण्टाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

यसअघि असोजमा परेको अविरल वर्षाका कारण रोशी खोलाको डाइभर्सन बग्नुका साथै पहिरो र लेदोले सडक अवरुद्ध हुँदा पाँच दिनसम्म बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि पुनर्निर्मित सडकबाटै सवारीसाधन सञ्चालन गरिँदै आएको हो। पछिल्ला केही महिनादेखि पुनर्निर्माणको कामलाई तीव्रता दिइएको थियो।

पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौँसँग जोड्ने छोटो दूरीको मार्गका रूपमा रहेको बीपी राजमार्गमा वर्षा हुनेबित्तिकै रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको थियो। यसपटक पुनर्निर्मित सडकलाई प्रयोगमा ल्याएपछि उक्त समस्या कम हुने अपेक्षा गरिएको छ।

कार्यालयले चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ। क्षतिग्रस्त सडकका अधिकांश स्थानमा ग्राभेल बिछ्याउने काम भएको छ भने कतिपय क्षेत्रमा ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ। वर्षायामअघि सात मिटर उचाइसम्म सडक निर्माण गरी ग्राभेल गरिएको र हिउँदमा खोलाबाट करिब १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्र गर्ने योजना रहेको कार्यालयले जनाएको छ।

क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीतर्फको एक खण्डका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ। बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको सहयोगमा पुनर्निर्माण भइरहेको छ।

पुनर्निर्माणपछि राजमार्गलाई दुई लेनको बनाउने योजना छ। सडकसँगै पुलको क्षमता र संरचनासमेत विस्तार गरिने तथा पाँचवटा पुललाई दुई लेनमा स्तरोन्नति गरिने जनाइएको छ। काभ्रेपलाञ्चोकतर्फका तीन सडक खण्डमा कुल छ दशमलव तीन किलोमिटर आरसिसी पर्खालसमेत निर्माण गरिनेछ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु गरिएको धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो बीपी राजमार्ग २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्