भोटेकोशी बाढीमा विद्यार्थीको ज्यान जोगाउने रसुवाकी शिक्षिका अनुजालाई ‘मीना दिदी पुरस्कार’
काठमाडौं,असोज २५ । यस वर्षको ‘मीना दिदी पुरस्कार–२०८३’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिने भएको छ। भोटेकोशी बाढीका क्रममा आपत्कालीन अवस्थामा विद्यार्थीको जीवनरक्षाका लागि उहाँले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको सम्मान गर्दै पुरस्कारका लागि छनोट गरिएको पुरस्कार समितिका सदस्यसचिव उमानाथ पोखरेलले जानकारी दिनुभयो।
रसुवाको उत्तरगया गाउँपालिका–५ निवासी आचार्यले २०८३ भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका बेला विद्यार्थीको ज्यान जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। विपद्को कठिन परिस्थितिमा विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिँदै उहाँले देखाएको साहस, जिम्मेवारीबोध र मानवीय संवेदनशीलतालाई पुरस्कार छनोटको प्रमुख आधार बनाइएको समितिले जनाएको छ।
शिक्षकको जिम्मेवारी कक्षाकोठामा पठनपाठन गराउनुमा मात्र सीमित नभई संकटका बेला विद्यार्थीको जीवनरक्षा गर्नु पनि हो भन्ने उदाहरण आचार्यले प्रस्तुत गर्नुभएको छ। आपत्कालीन अवस्थामा विद्यार्थीको जीवनलाई प्राथमिकता दिँदै उहाँले निर्वाह गरेको भूमिकाको कदरस्वरूप पुरस्कार प्रदान गर्न लागिएको हो।
समाजसेवी तथा प्राध्यापक आरती कार्की र मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिकाले आफ्नी आमा स्वर्गीय मीनाकुमारी कार्कीको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको हो। शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने महिला शिक्षकलाई प्रत्येक वर्ष प्रदान गरिने यस पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ।
महिलाका लागि औपचारिक शिक्षा प्राप्त गर्ने अवसर सीमित रहेको समयमा मीनाकुमारी कार्कीले ग्रामीण क्षेत्रमा शिक्षाको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो। विसं २०२३ देखि शिक्षण पेसा सुरु गर्नुभएकी उहाँले अर्घाखाँची र पाल्पाको झडेवास्थित किसान माध्यमिक विद्यालयमा गरी २७ वर्ष अध्यापन गर्नुभएको थियो।
छोरीहरूलाई विद्यालय पठाउन हिचकिचाउने तत्कालीन समाजमा उहाँ घरघरमा पुगेर अभिभावकलाई छोरीहरूलाई पनि पढाउनुपर्छ भन्दै सम्झाउने र प्रेरित गर्ने गर्नुहुन्थ्यो। पाल्पाको किसान माध्यमिक विद्यालयमा ‘मीना दिदी’ का नामले परिचित उहाँको सम्मानमा विद्यालयका भूतपूर्व विद्यार्थीले उहाँ जीवित छँदै ‘मीना दिदी’ नामक पुस्तकसमेत प्रकाशन गरेका थिए। उहाँको निधन २०७८ माघ २१ गते भएको थियो।
गत वर्ष पहिलो पटक ‘मीना दिदी पुरस्कार’ बैतडीकी पहिलो महिला शिक्षिका कृष्णा विष्टलाई प्रदान गरिएको थियो। ग्रामीण क्षेत्रमा शिक्षाको विस्तार, बालिका शिक्षा, महिला सशक्तीकरण, छाउपडी प्रथा न्यूनीकरण तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै विष्टलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

