बुढीगण्डकी बाढी : पाँच जना बेपत्ता, ४८ जनाको सकुशल उद्धार
गोरखा,असोज २५ । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेपछि बुढीगण्डकी नदी थुनिएर आएको लेदोसहितको बाढीमा परी पाँच जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा चुम्चेत उङ्गिलुङका सोनाम लामा, लाप्पा ठोर्मा लामा, कर्मा लामा, सोम्बुती लामा र तेन दोर्जे लामा रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्धार गरिएको छ। बाढीले २६ घर, नौ गोठ, चार पुल र एउटा सरकारी कार्यालयमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि ५३८ जना प्रहरी परिचालन गरिएको छ।
यसैबीच, प्रहरीले बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जोखिमयुक्त बस्ती, नदी किनार, पुल तथा सडकमा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएका निर्देशन पालना गर्न प्रहरीले अनुरोध गरेको छ।

