नुवाकोट बेलकोटगढीमा २५१ परिवारले एकै स्थानमा राखे जमरा



नुवाकोट,असोज २५ । घटस्थापनाका अवसरमा नुवाकोटको बेलकोटगढीमा विभिन्न जातजाति र समुदायका २५१ परिवारले एकै स्थानमा सामूहिक रूपमा जमरा राखेका छन्।

बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा स्थानीय ब्राह्मण, क्षेत्री, आदिवासी जनजाति तथा दलित समुदायका परिवारले दसैँका लागि जमरा राखेका हुन्।

मन्दिरका पुजारी भोलाराज पौडेलका अनुसार विगतका वर्षमा जस्तै यस वर्ष पनि सबै जातजातिका २५१ परिवारले एकै ठाउँमा जमरा राखेका छन्।

विजयादशमीका दिन नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिने जमरा सामूहिक रूपमा मन्दिरमा राख्ने परम्परालाई स्थानीयले निरन्तरता दिएका हुन्।

विभिन्न जातजाति र समुदायका परिवार एकै स्थानमा भेला भएर जमरा राख्ने यस परम्पराले आपसी सहकार्य, एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्